काठमाडौं– नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले बताए।
शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किराँतीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धी नीति नै नभएको स्विकार गरेका हुन्।
उनले अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा समेत गरे। रैथाने स्वाद र संस्कृतिसहितको अवको पर्यटन हुनुपर्ने उनको भनाइ थियो। मन्त्री किराँतीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भएपनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको बताए।
उनले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि सोसम्बन्धी अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिए। मन्त्री किराँतीले अन्य देशका कल्चर सेन्टरहरु नेपालमा भएपनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरु लोप हुने अवस्था पुगेको बताए।
उनले नेपालीपनको विकास गरेर मात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्ने दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।