एजेन्सी– उत्तरी इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको क्षेत्रीय आतंकवाद प्रतिरोधी निकाय (सीटीएस)ले बिहीबार जनाएको छ।
युरोकोप्टर एएस ३५० हेलिकप्टर दुहोक प्रान्तको एक गाउँ नजिकै बुधबार राति ८:४० बजे दुर्घटनाग्रस्त भएको कुर्दिश सीटीएसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नाम नबताउने शर्तमा कुर्दिश सुरक्षा स्रोतले भनेको छ, ‘हेलिकप्टरभित्र भएको विस्फोटका कारण विमान दुर्घटना भएको र विमानमा रहेका सात जनाको मृत्यु छ।’
स्रोतका अनुसार हेलिकप्टर तेल खानी नजिकै दुर्घटनाग्रस्त भएको थियो, जसलाई घटनाले कुनै असर गरेको थिएन। कुर्दिश सीटीएसको वक्तव्यअनुसार इराकी सरकार, अमेरिकी नेतृत्वको गठबन्धन र टर्की सरकारले हेलिकप्टरको स्वामित्व अस्वीकार गरेका छन्।
कुर्दिश सुरक्षा बलले हेलिकप्टरको स्वामित्वबारे अनुसन्धान सुरु गरेको र मृतकमध्ये केही कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) का लडाकू रहेको विज्ञप्तिमा उल्लेख छ।
पिकेकेलाई टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरिएको छ। टर्कीको सेनाले उत्तरी इराक, विशेष गरी पिकेकेको मुख्य आधार कान्दिल पर्वतमा अक्सर स्थलगत अभियान, हवाई आक्रमण र तोप बमबारी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।