एजेन्सी– एल साल्भाडोर सरकारले बुधबार थप दुई हजार गुण्डागर्दीका सन्दिग्ध गिरोहका सदस्यलाई विशाल जेलमा पठाएको छ।
देशका न्यायमन्त्रीले अब उनीहरू कहिल्यै सडकमा नफर्कने वाचा गरेका छन्। उक्त कारागारमा पहिलेदेखि नै दुई हजार बन्दीलाई राखिएको छ।
राष्ट्रपति नायब बुकेलेको प्रशासनले गुण्डागर्दीविरुद्धको १३ महिनाको अभियानमा दशौं हजारलाई पक्राउ गरेको छ। उनीहरूमाथि कठोर कारबाही हुने चेतावनी दिएका छन्। बितेका तीन सय ५४ दिनमा करिब ६५ हजार सन्दिग्ध पक्राउ परेका छन्।
मानवअधिकार समूहहरूले भने पक्राउ परेका कैयौं दुर्व्यवहारको शिकार भएका तथा निर्दोष मानिस पनि प्रहरी काराबहीमा परेका बताएका छन्।
सरकारले सामाजिक सञ्जालमा सार्वजनकि गरेको भिडियोमा हथकडी लगाइएका धेरै कैदीबन्दीलाई स्थानान्तरणका क्रममा खाली खुट्टा दौडिन बाध्य पारिएको देखाइएको छ। उनीहरूले सेतो सटमात्र लगाएका छन्। त्यसपछि उनीहरूलाई जमिनमा बस्न बाध्य पारिएको छ।
सरकारका न्याय एवम् शान्ति मन्त्री गुस्ताभो भिल्लाटोरोले गुण्डागर्दी गर्ने गिरोहका सदस्य अब कहिल्यै सडकमा नफर्कने वाचा गरेका छन्। यद्यपि गिरफ्तार गरिएकामध्ये करिब ५७ हजार औपचारिक अभियोगको प्रतीक्षामा छन्। हालसम्म करिब तीन हजार पाँच सय जनामात्र रिहा भएका छन्।
गत मार्च २७ मा देशभरि एकै दिन ६२ जना मारिएपछि राष्ट्रपति बुकेलेले गुण्डागर्दीमा संलग्न गिरोहहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए। सडक गिरोहहरूले लामो समयदेखि एल साल्भाडोरका बासिन्दालाई मार्दै रकम लुट्दै आएका छन्। गुणगर्दीविरुद्ध अभियान थालिएपछिका दुई सय दिनमा कुनै पनि नागरिक गिरोहको आक्रमणबाट मर्नुपरेको छैन।
प्रहरीले जोसुकैलाई कारण नबताइ पक्राउ गर्न सक्छन् भने पक्राउ परेकालाई वकिल राख्ने अधिकार पनि छैन। उनीहरूलाई न्यायाधीशसमक्ष पेस नगरी १५ दिनसम्म हिरासतमा राख्न सकिने अधिकार प्रहरीमा निहित छ।
स्थानीय अधिकार समूह क्रिस्टोसलले बितेका ११ महिनामा मानवअधिकार हननका तीन हजार तीन सय ४४ घटना भएका अभिलेखीकरण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।