एजेन्सी– दक्षिणी मालावीमा आएको ‘फ्रेडी’ नामक चक्रवातका कारण मृत्यु हुनेको संख्या बुधबारसम्म २२५ पुगेको छ। विपद् व्यवस्थापन मामिला विभागका आयुक्त चाल्र्स कालेम्बाले बुधबार गरेको पछिल्लो अपडेटमा ७०७ जना घाइते भएको र ४१ जना हराइरहेको जानकारी दिएका छन्।
प्रभावित क्षेत्रहरूमा मालावीको दक्षिणी क्षेत्रका ब्लान्टायर सिटी, ब्लान्टायर जिल्ला, सिक्वावा, चिराडजुलु, मचिङ्गा, मुलान्जे, नेनो, सान्जे, फलोम्बे, थियोलोलो, जोम्बा सिटी र जोम्बा गरी १२ जिल्ला र शहरहरू समावेश छन्।
पछिल्लो अद्यावधिकअनुसार फ्रेडी चक्रवातले कम्तीमा १९ हजार ६७६ घरधुरीका करिब ८८ हजार ३ सय १२ जना विस्थापित भएका बताइएको छ।
मलावीको सुरक्षाकर्मी तथा उद्धार सेवामा कार्यरत जनशक्तिले मलावी रेडक्रस सोसाइटी र समुदायहरूको नेतृत्वमा खोजी र उद्धार कार्य जारी राखेको छ।
डीओडीएमएले परराष्ट्र मन्त्रालयमार्फत् विदेशी नियोग, सरकार र अन्तर्राष्ट्रिय संस्थासँग सहयोगका लागि सम्पर्क गरिरहेको जनाएको छ। यसैबीच, मलावीका राष्ट्रपति लाजरस चाक्वेराले बुधबार प्रभावित क्षेत्र र समुदायको भ्रमण गरी स्थितिको समीक्षा गर्ने कार्यक्रम रहेको छ।
देशको मौसम विभागले मलावीमा स्थानीय स्तरमा वर्षा र आँधीबेहरी जारी रहने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।