लाहोर– पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच पाकिस्तानस्थित खाननिवासअगाडि झडप भएको छ। प्रमुख सहरमा प्रदर्शन गरिएको छ । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गरेका छन्।
गएराति पनि पाकिस्तान तहरीक–ए– इन्साफ (पीटीआई)का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घरनजिक झडप भएको थियो। प्रहरी र अर्धसैनिक बलका जवानले अश्रुग्यास प्रहार गरेपछि खानका क्रुद्ध समर्थकले ढुंगामुढाले प्रतिकार गरेका थिए।
पानीको फोहरा र अश्रुग्यास प्रहार गर्दै आएका सुरक्षाकर्मीले गोली समेत हान्न थालेको पीटीआईका एक कार्यकर्ताले बताएका छन्। गत वर्ष विश्वासको मत प्राप्त नभएपछि पदमुक्त भएका खानमाथि भ्रष्टाचारलगायत विभिन्न मुद्दा लगाइएको छ । उनले आम निर्वाचनको माग गर्दै आएका छन्।
सार्वजनिक रूपमा सरकारको कटु आलोचना गर्दै आएका उनीमाथि प्रधानमन्त्री हुँदा प्राप्त उपहार बेचेको तथा प्राप्त आम्दानी सार्वजनिक नगरेको आरोप लगाइएको छ। सोही विषयमा जानकारी दिन अदालतले उनलाई बोलाएको छ। अदालतको आदेश पालना नगरेकाले उनलाई पक्राउ गर्न आफूहरू आएको एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताए।
इस्लामावाद प्रहरीका उपमहानिरीक्षक सैयद शहजाद नदीम बुखारीले अदालतको आदेश कार्यान्वयन गर्न नेता खानको घर आएको स्पष्ट पारेका छन्। पञ्जाबका प्रहरी प्रमुख उस्मान अन्वरले अदालतको आदेशलाई जुनसुकै मूल्यमा पनि पालना गर्नुपर्ने बाध्यता रहेको बताए।
पीटीआईका समर्थकको एक समूहले दक्षिणी बन्दरगाह सहर कराँची र उत्तरपश्चिमको पेशावरमा पनि जुलुस निकालेका छन् । उनीहरूले सडक पनि अवरुद्ध पारेका छन्।
कुनै समयका क्रिकेट सुपरस्टार ७० वर्षीय खानलाई हिरासतमा राख्ने प्रयास यसअघि पनि भएको थियो। उनीमाथि ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहारसमेत गरिएको थियो। प्रधानमन्त्री शेहबाज सरिफको आदेशमा आफ्नो हत्या प्रयास गरिएको आरोप खानले लगाउँदै आएका छन्।
पीटीआईका एक वरिष्ठ अधिकारीका अनुसार इस्लामावाद उच्च अदालतमा खानको गिरफ्तारी रोक्न रिट दायर गरिएको छ। उक्त रिटमाथि आजै सुनुवाइ हुने अपेक्षा गरिएको छ। गिरफ्तारी रोक्न अदालतबाट आदेश भएमा स्थिति स्वतः साम्य हुनेछ। पार्टीका पदाधिकारीले लाहोरको अदालतमा पनि त्यस्तै रिट दायर गरेका छन्।
पाकिस्तान राजनीतिक अस्थिरताका कारण निरन्तर शिथिल बन्दै गएको छ। त्यहाँको अर्थतन्त्रलाई उकास्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रयास असफल भएको थियो। अतिवादी समूहहरूले बेलाबेलामा गर्ने घातक आक्रमण एवम् आत्मघाती हमालाबाट पाकिस्तान निरन्तर प्रताडित भइरहेको छ। कानुन कार्यान्वयनमा कठिनाइ हुँदा आपराधिक गतिविधि नियन्त्रणमा पनि असर परेको छ।
राजनीतिक नेताले आफ्ना कार्यकर्ता र समर्थकलाई प्रयोग गरेर गिरफ्तारीलाई अस्वीकार गर्नुले पाकिस्तानको सबैभन्दा खराब अवस्थालाई प्रतिविम्बित गरेको लेखक, राजनीतिक विश्लेषक र मानवअधिकार कार्यकर्ता तौसीफ अहमद खान बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।