काठमाडौं- नेकपा एमालेले संसद् सचिवालयलाई पत्र लेखेर आफूलाई प्रतिपक्षी दलको मान्यता दिन आग्रह गरेको छ। एमालेको तर्फबाट पत्र आएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट एमाले बाहिरिएपछि दुई ठूला पार्टी कांग्रेस र एमालेबीच प्रतिपक्षी दल आफूलाई बनाइनुपर्ने दाबी छ।
कांग्रेस सरकारमा सामेल हुने भनिएको भए पनि अहिलेसम्म भइसकेको भने छैन। त्यसैले उसले दाबी गरिरहेको छ। उसले प्रचण्डलाई गत पुस २६ गते विश्वासको मत दिएपछि पनि प्रतिपक्षी दलको नेताको सेवा सुविधाबारे चासो राख्दै सचिवालयलाई पत्र लेखेको थियो।
एमालेले भने कांग्रेसलाई सत्तापक्ष मानेर आफूलाई प्रतिपक्षी दलको हैसियत दिनुपर्ने बताउँदै आएको छ।
यसअघि फागुन १७ गतेको प्रतिनिधि सभा बैठक पनि कांग्रेस र एमाले दुवैले प्रतिपक्षी दलको दाबी गरेपछि स्थगित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।