काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रमुख प्रतिपक्षीको बेञ्चमा बस्न खोजेपछि प्रतिनिधि सभा बैठक सरेको छ। संसद् सचिवालय स्रोतका अनुसार सरकारमा नजाँदासम्म कांग्रेसले प्रतिपक्षमा बस्ने जनाएको छ।
सरकारबाट हट्नुका साथै समर्थन फिर्ता लिएपछि एमाले स्वत: प्रतिपक्षमा पुगेका नेकपा एमालेका सचिव योगश भट्टराई बताउँछन्।
उनले भने, ‘हामीले समर्थन फिर्ता लिएका छौं र सरकारबाट बाहिरिएका छौं। हामी स्वत: यो सरकारको प्रतिपक्ष भइसक्यौं।’
बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक एकैपल्ट चैत ५ गते बस्ने गरी सारिएको हो।
विशेष कारणले बैठक सारिएको संघीय संसद् सचिवालयले जनाएको छ। त्यो विशेष कारण राजनीतिक रहेको सचिवालयका एक कर्मचारीको भनाइ छ।
कांग्रेसले सरकारमा गएपछि मात्रै सत्ता पक्ष बन्ने सचिवालयलाई जानकारी दिएका कारण लामो समयका लागि बैठक स्थगित गर्नुपरेको संसद् सचिवालय स्रोतले बतायो।
फागुन २५ गतेका लागि राष्ट्रपतिको निर्वाचन तय गरिएको छ। यो बीचमा मन्त्रिपरिषद् विस्तार हुने सम्भावना छैन। मन्त्रिपरिषद् विस्तारपछि मात्रै प्रतिपक्षबाट हट्ने अडान कांग्रेसले लिएपछि प्रतिनिधि सभा १८ दिनपछि मात्रै बस्ने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।