काठमाडौं– पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल आयल निगम आफैंले नयाँ विद्युतीय गाडी खरिद गरेको छ। निगमले विद्युतीय सवारीलाई प्राथमिकतामा राख्दै नयाँ गाडी खरीदमा विद्युतीय गाडी किनेको हो।
निगमका अनुसार हाललाई ३ वटा मात्र विद्युतीय गाडी खरीद गरिएको छ। जसमा बीवाइडीको ई-६ मोडल रहेको छ। यो गाडीको मूल्य ५९ लाख रुपैयाँ रहेको छ। यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ५४० किलोमिटर रेन्ज प्रदान गर्छ। यसलाई फुल चार्ज गर्न ८-१० घन्टाको समय लाग्छ।
निगमले विद्युतीय गाडी खरीदका लागि गत कात्तिकमा नै टेन्डर आह्वान गरेको थियो। निगमका अनुसार निगमले बीवाइडी, हुन्डाई र एमजीका गाडी बिक्री गर्ने कम्पनी टेन्डरमा सहभागी भएका थिए। त्यसबाट बीवाइडीले टेन्डर हात पारेको थियो।
कम मूल्यमा प्रतिस्पर्धा गरेका कारण बिवाइडीको गाडी खरीद गरिएको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले बताए।
उनका अनुसार निगमले विद्युतीय गाडी खरिद गर्नुको मूख्य कारण इन्धन खपत घटाउने र नेपालमा उत्पादन भएको विद्युत खपतलाई बढाउनु हो। पेट्रोलियम पदार्थ आयात गर्ने निगम आफैले विद्युतीय सवारी खरिद गरेर उदाहरण बनाएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।