काठमाडौं– क्याम्ब्रिज इन्टरनेशनलले नेपाली विद्यार्थीहरूलाई ६६ वटा आउट स्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड प्रदान गरेको छ।
यो पुरस्कारले ४० भन्दा बढी देशका रामो प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिने गरेको छ। यी विद्यार्थीको योग्यतालाई विश्वभरका प्रमुख विश्वविद्यालय र रोजगारदाताहरूले मान्यता दिएका छन्।
एक सय ६० वर्ष भन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय परीक्षा लिँदै आएको क्याम्ब्रिज इन्टरनेशनलका पाठ्यक्रमहरू हरेक वर्ष विश्वभरका लगभग १० लाख विद्यार्थीहरूले अध्ययन गर्छन्।
सन् २०२१/०२२ को क्याम्ब्रिज परीक्षामा उत्कृष्ट प्रदर्शन गरेकोमा नेपालका जम्मा ४७ जना विद्यार्थीहरूले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड’ प्राप्त गरेका छन्।
यस अवार्डले चार विधा ‘टप इन द वल्र्ड’ (विश्वमै सर्वोत्कृष्ट), ‘टप इन द कन्ट्री’ (देशभरमा सर्वोत्कृष्ट), ‘हाई अचिभमेन्ट अवार्ड (उच्च उपलब्धि पुरस्कार)’, र ‘बेस्ट अक्रस (थुप्रै पक्षमा राम्रो)’ मा सफलताको मूल्यांकन गर्ने गरेको छ। नेपालका एक जना विद्यार्थीले ‘टप इन द वल्र्ड अवार्ड’ जितेका छन्, अर्थात् अंग्रेजी भाषा र साहित्यमा उनले विश्वमै सबैभन्दा बढी अंक हासिल गरेका छन्।
क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेसमेन्टका दक्षिण एसियाका प्रबन्धनिर्देशक अरुण राजामणिले आउट स्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डले विश्वभर क्याम्ब्रिज परीक्षाहरूमा उच्च प्रदर्शन गर्ने विद्यार्थीहरूको असाधारण शैक्षिक उपलब्धिहरूको कदर र सम्मान गर्ने बताए।
बर्सेनि असंख्य नेपाली विद्यार्थीहरूलाई स्टेम (विज्ञान, प्रविधि, वातावरण र गणित) र गैर–स्टेम विषयहरूमा उनीहरुको उत्कृष्ट प्रदर्शनको आधारमा यी पुरस्कारहरू प्रदान गरिएको उनले जानकारी दिए।
यस्तै ब्रिटिस काउन्सिल नेपालका महाप्रबन्धक तथा परीक्षा निर्देशक म्याक्सिम राइमानले ब्रिटिश काउन्सिलले यी विद्यार्थीहरूलाई उनीहरूको लगावलाई पछ्याउन र क्षमतालाई साकार पार्न अर्को कदम चाल्ने अवसर प्रदान गरेको बताए। यसका साथै क्याम्ब्रिजका परीक्षा उत्तीर्ण गर्नुले उनीहरूलाई विषयको गहिरो ज्ञान, संवाद र आलोचनात्मक सोचजस्ता सबैतिर चाहिने सीपहरूको राम्रो आधार प्रदान गरेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।