काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्यहरूले वर्तमान काबुल प्रशासनलाई मान्यता नदिएका कारण अफगानिस्तानले पाउनुपर्ने सार्क महासचिवको जिम्मेवारी बंगलादेशलाई दिइएको खामा प्रेसले जनाएको छ।
सार्क नियम अनुसार, यो वर्ष नेतृत्व गर्ने पालो अफगानिस्तानको रहेको थियो। अफगानिस्तानपछि बंगलादेशको पालो रहेको थियो। अफगानिस्तानको तालिबान प्रशासनलाई सार्कले मान्यता नदिएका कारण बंगलादेशका वरिष्ठ कूटनीतिज्ञ गुलाम सरवरलाई आठ सदस्यीय क्षेत्रीय संगठनको महासचिवमा नियुक्त गरिएको छ। सरवरले श्रीलंकाली एसाला रुवान वीराकुनको उत्तराधिकारीका रूपमा सार्कको नेतृत्व सम्हाल्न लागेका हुन्।
वीराकुनको तीन वर्षे कार्यकाल सन् २०२३ को फेब्रुअरीदेखि समाप्त भएको हो। दक्षिण एसियाली क्षेत्रीय संगठनको महासचिवको रूपमा बंगलादेश सरकारले सरवरको नियुक्तिका लागि प्रस्ताव पठाएको र यसलाई सदस्य राष्ट्रहरूबीच छलफल गरिएको थियो।
सार्कको मन्त्रिपरिषद्ले नयाँ महासचिव चयन का लागि व्यक्तिगत रूपमा बैठक गर्ने गरेको भए पनि यसपटक त्यो सम्भव नभएपछि नेपालका तर्फबाट भरतराज पौडेलले पाकिस्तानलगायत सार्क सदस्य राष्ट्रका तर अफगानिस्तानबाहेकका आफ्ना समकक्षीसँग गोलम सरवरको मनोनयनबारे छलफल गरी परिपत्रमार्फत् अनुमोदनको प्रस्ताव गरेका थिए। प्रस्ताव सबै सदस्य राष्ट्रबाट अनुमोदित भएको छ।
सन् १९८५ मा स्थापना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)ले आफ्ना सदस्य राष्ट्रहरूको आर्थिक र सामाजिक विकासलाई अघि बढाउने काम गर्छ। अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका सार्कका सदस्य राष्ट्र हुन्।
सन् २००७ को अप्रिल ३ मा संगठनको १४ औं शिखर सम्मेलनको दौडान, अफगानिस्तान संगठनको आठ सदस्यहरूमध्ये एक बनेको थियो। अफगानिस्तानले यस पटक सार्कको महासचिव पदका लागि उम्मेदवार प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो, तर सदस्य राष्ट्रहरूले तालिबानलाई मान्यता नदिएकाले बंगलादेशलाई अवसर दिइएको हो।
अफगानिस्तानस्थित टोलो न्यूजका अनुसार तालिबानले हालै अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानको ‘इस्लामिक इमिरेट्स’लाई मान्यता दिन आह्वान गरेको थियो र यदि यसलाई मान्यता दिइयो भने विश्व समुदायको चिन्ता र गुनासोलाई अझ राम्रो तरिकाले सम्बोधन गरिने दाबी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।