एजेन्सी– न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध हजारौं इजरायली सडकमा उत्रिएका छन्। जनप्रदर्शनका कारण सडक अवरुद्ध भएका छन्। विश्लेषकहरूले विरोधप्रदर्शनलाई देशको इतिहासमा सबैभन्दा ठूलो सडक अवरोध भनेका छन्।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने सरकारी योजनाको बचाउ गर्दै अदालतको शक्तिमा अंकुश लगाउने परिवर्तनबाट सरकारका अङ्गहरूबीच सन्तुलन कायम हुने दाबी गरेका छन्।
विपक्षीहरूले भने त्यसबाट लोकतन्त्र जोखिममा पर्ने बताएका छन्। शनिबारको जुलुसलाई विपक्षी नेता यायर लापिडले इजरायलको इतिहासमा सबैभन्दा ठूलो संकट भनेका छन्।
शनिबारको विरोध प्रदर्शनमा पाँच लाख सर्वसाधारण सहभागी भएका विरोधप्रदर्शनका आयोजकहरूले दाबी गरेका छन्। देशको सबैभन्दा ठूलो सहर तेलअविवमा दुई लाख मानिसले राष्ट्रिय झण्डा बोकेर प्रस्तावित न्यायिक सुधारको विरोध गरेका थिए।
जुलुसमा सहभागी तामिर गुयत्साब्रीले सरकारी योजना न्यायिक सुधार नभएको बताउँदै त्यसले इजरायललाई पूर्ण तानाशाही पद्धतिमा लैजाने टिप्पणी गरेका छन्। उनले आफ्ना सन्तानको स्वतन्त्रताका निम्ति सडकमा आउनुपरेको बताएका छन्।
त्यसैगरी उत्तरी सहर हाइफामा ५० हजारभन्दा बढी जुलुसमा सहभागी भएका थिए। विरोधप्रदर्शन सरकारी योजनाहविरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शनको दशौं हप्तामा प्रवेश गरेको छ। दक्षिणी सहर बेरशेवा आयोजित जुलुसमा विपक्षी नेता लापिडले देशले अभूतपूर्व संकटको सामना गरिरहेको बताए।
‘आतंकवादको लहरले हामीलाई प्रहार गरिरहेको छ, हाम्रो अर्थतन्त्र ध्वस्तप्रायः भएको छ, देशबाट पैसा पलायन भइरहेको छ। इरानले साउदी अरबसँग हिजो मात्रै नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ तर हाम्रो सरकारले इजरायली प्रजातन्त्रलाई कुचल्ने प्रयास जारी राखेको छ,’ तिक्ततापूर्ण इजरायल–इरान सम्बन्धको सन्दर्भ कोट्याउँदै लापिडले भने।
यसैबीच, अर्को एक घटनामा इजरायली सेनाले वेस्ट बैंक सहर नाब्लस नजिकै तीन सशस्त्र प्यालेष्टिनीलाई गोली हानी मारेको इजरायली सेनाले जनाएको छ। बन्दुकधारीहरूले इजरायली सेनाको चौकीमा गोली चलाएपछि सेनाले जवाफी कारबाही गरेको थियो।
प्यालेस्टिनी अधिकारीहरूले घटनाबारे कुनै टिप्पणी गरेका छैनन्। हालैका महिनामा प्यालेष्टाइन र इजरायलबीच हिंसामा उल्लेखनीय वृद्धि भएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुल दक्षिणपन्थी दलहरूको सहयोगमा गत डिसेम्बरमा सत्ता गठबन्धन गरेपछि वेस्ट बैंकको अवस्था ज्यादै खराब भएको छ। यो वर्षको प्रारम्भदेखि भड्किएको द्वन्द्वमा परी बालबालिकासहित ८१ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।