काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको प्रतिबन्ध हटाएको छ। प्राधिकरणले श्री एयरलाइन्सका जहाजमाथि लगाएको उडान-अवतरणको प्रतिबन्ध फुकुवा गरेपछि आज शनिबारदेखि नियमित उडान सुरु भएको छ।
प्राधिकरणका प्राविधिकहरूले श्रीका जहाजको प्राविधिक परीक्षण गरेपछि उडानका लागि अनुमति दिइएको हो। बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखिएपछि जहाजलाई धादिङको आकाशबाट फर्काएर काठमाडौंमा आकस्मिक अवतरण गरिएको थियो।
घटनापछि प्राधिकरणले शुक्रबारदेखि श्रीलाई कुनै पनि सेक्टरमा उडान गर्न नपाउने निर्णय गरेको थियो। श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना सबै जहाज जाँच तथा अध्ययन गरी पुन: सेवा सञ्चालन गर्न शुक्रबार नै अनुमति दिएको जनाएको छ।
श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले विज्ञप्ति जारी गर्दै आफूहरुमाथि लागेको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएका छन्। उनका अनुसार श्री एयरलाइन्सका जहाजले शनिबारदेखि नियमित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।