नयाँ दिल्ली- दुई दिनअघि मुम्बईको तटमा भएको दुर्घटनापछि भारतीय रक्षा बलले एएलएच ध्रुव हेलिकोप्टरको उडानमा प्रतिबन्ध लगाएको छ। अनुसन्धानकर्ताहरूले हेलिकोप्टर दुर्घटनाको कारण पत्ता नलागेसम्म उडान प्रतिबन्ध कायमै रहनेछ।
एएलएच हेलिकोप्टरहरू भारतीय तटरक्षक बलसँगै सेना, नौसेना र वायुसेनाद्वारा सञ्चालित हेलिकोप्टर हुन्। अनुसन्धानकर्ताहरूले मुम्बईको तटमा भएको हेलिकोप्टर दुर्घटनाको कारण पत्ता नलागेसम्म र जाँच पूरा नगरेसम्म उडानमा रोक लगाइएको सैन्य अधिकारीहरूले बताएका छन्।
एएलएच ध्रुव हेलिकोप्टर हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल) द्वारा निर्मित बहुउद्देश्यीय हेलिकोप्टर हो। यसलाई सैन्य कर्मचारी र सामग्रीको ओसारपसारमा प्रयोग गरिन्छ। एचएएलका अधिकारीहरूले भने हेलिकोप्टरको सञ्चालन नरोक्न सुनिश्चित गर्न ग्राहकहरूसँग मिलेर काम गर्ने बताएका छन्।
अरब सागरको पानीमा आकस्मिक अवतरण
बुधबार नौसेनाको एएलएच ध्रुव हेलिकोप्टरले प्राविधिक समस्या आएपछि मुम्बईको तट नजिकै अरब सागरमा पानीमा आपतकालीन अवतरण गरेको थियो। यसपछि चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको थियो।
उक्त हेलिकोप्टरले मुम्बईबाट नियमित उडान भरेको थियो। दुर्घटनाको खबरलगत्तै तत्काल खोजी र उद्धारको काम सुरु गरिएको थियो। परिणामस्वरूप नौसेनाले चालक दलका तीन सदस्यको सुरक्षित उद्धार भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्।
एएलएच ध्रुवलाई सेनाको तीनवटै अंगको हेलिकोप्टर मिसनमा निकै महत्त्वपूर्ण मानिन्छ। यसलाई भारतका विभिन्न क्षेत्रमा तैनाथ गरिएको छ। रक्षा अधिकारीहरूले एएलएच ध्रुवले छिट्टै उडान सुरु गर्ने आशा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।