काठमाडौं– नागरिक लगानी कोषले ३३ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रुपैया प्रदान गरेको छ।
ति संस्थाहरुलाई बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले चेक हस्तान्तरण गरेका हुन्। सो अवसरमा कोषले सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ए डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुद लगायतका सामाग्री खरिद गर्न १ लाख ५० हजार रुपैयाँको चेक प्रदान गर्यो।
त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ अशक्त, अपांग भएका मस्कुलर डिस्ट्रोफीका विरामीहरुको पुर्नस्थापनको लागि फिजियोथेरापी, एम्बुलेन्स र एकीकृत स्वास्थ्य शिविर सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउण्डेशन–नेपाल, शंखरापुर काठमाडौंलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।
त्यसैगरी कोषले उपत्यका बाहिर फरक क्षमता भएका बालबालिकाहरुलाई खेलकुदको माध्यमबाट उत्साहित गर्न अपांगता भएका व्यक्तिहरुको लागि काम गर्दै आएको राप्ती बहिरा संघ दाङलाई समावेशी खेलकुद सम्बन्धी कार्यको लागि २ लाख रुपैयाँको चेक प्रदान गरेको छ।
योभन्दा अघि कोषले कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराइरहेको पदमपुर आधारभूत विद्यालय ढेढौली, चितवनलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो।
चेक हस्तान्तरण कार्यक्रममा कोषका कार्यकारी निर्देशक नेपालले कोषले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दै आइरहेको र आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।