काठमाडौं– आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) मा सिस्नुपानी नेपाल पनि सहभागी हुने भएको छ। स्थापित हास्य–व्यङ्ग्य समूह सिस्नुपानी नेपालले निफमा डेढ घण्टा लामो एउटा सेसन चलाउने भएको हो।
‘हास्य व्यङ्ग्यले हौसिएको नेपाली सिनेमा’ विषयक उक्त सेसनमा ‘प्यानलिष्ट’हरु चर्चित कलाकार मनोज गजुरेल, कवि लक्ष्मण गाम्नागे, निर्देशक प्रदीप भट्टराई र समीक्षक डा. विन्दु शर्मा रहेका छन्।
त्यसैगरी यस सेसेनको मध्यस्थता पत्रकार तथा संस्कृतिविज्ञ धिरेन्द्र प्रेमर्षिले गर्नेछन्। सिस्नुपानीको यो सेसन आउँदो चैत ६ (२० मार्च) गते सोमबारका दिन नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सञ्चालन हुने छ।
३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने यस महोत्सवमा छनौट भएका ९५ प्रतियोगी चलचित्रको प्रदर्शन क्यूएफएक्सद्वारा सञ्चालित सिनेमा हलहरू काठमाडौंको सिभिल मल र छाया सेन्टर, पुलचोकको लबिम मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा हुनेछन्। ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ।
कार्यक्रमको उद्घाटन सिभिल मल सुनधारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष केपी पाठक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।