काठमाडौं– काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएपछि काठमाडौं फर्काइएको छ। उक्त जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सकुशल अवतरण गराइएको छ।
बिहीबार बिहान काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उडेको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको थियो। उक्त जहाजलाई धादिङको थाक्रे क्षेत्रबाट काठमाडौं फर्काइएको हो।
उडेको केहीबेरमा चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए। त्यसपछि जहाज फर्काएर काठमाडौंमा आकस्मिक अवतरण गर्न भनिएको थियो।
जहाजमा आगो देखिएङ्को सूचना आएपछि विमानस्थलमा उच्च सतर्कता अपनाइएको थियो भने आन्तरिक र अन्तर्राष्ट्रिय उडान केही समय होल्ड गरिएको थियो। विमानको दायाँ इन्जिनमा आगो लागेको बताइएको छ।
विमान अवतरण भइसकेको र विमानमा रहेका ७८ जना यात्रु सकुशल रहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।