काठमाडौं– सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गरे।
काठमाडौं–दुबई–काठमाडौं उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गरेका हुन्।
महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताए।
महिलाहरूको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उनले उल्लेख गरे। ‘पर्यटनमा मात्रै होइ, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलोचोटी महिलाहरूले उडाएको जहाज ऐतिहासिक छ र आज एक सय १३औँ विश्व महिला दिवस भएकाले मैले उहाँहरू (महिला विमान चालक दल) लाई स्वागत तथा बधाई दिएको र उहाँहरूको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ’, पर्यटनमन्त्री किरातीले भने।
यो उडानमार्फत् पनि महिलाहरूले देश समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किरातीले उल्लेख गरे। निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौंदेखि दुबई भएर पुनः काठमाडौं) भरेका हुन्।
पाइलट भावना पन्त र को–पाइलट सृजना राउतको टोलीले काठमाडौं–दुबई–काठमाडौं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए। उनका अनुसार महिला चालक दलले बुधबार निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौंको उडान भरेका हुन्।
दुई महिला पाइलटले निगमको एयरबस ‘ए’–३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौंबाट दुबईका लागि उडान भरेका थिए। यो उडानका सबै क्रू मेम्बर महिला थिए। निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।