काठमाडौं– चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्धारित उडानहरू पुनः सुचारु गर्ने भएको छ।
सिचुवान एयरलाइन्सले चैत ६ देखि छेन्दुबाट साताको ४ उडान गर्नेछ। सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार, बुधवार, शुक्रबार र आइतबार स्थानीय समय अनुसार १५:३५ बजे उडान भर्नेछ।
त्यस्तै, छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रातको ९ बजे अवतरण गर्नेछ। नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै उक्त एयरलाइन्सले काठमाडौंदेखि मेलबर्नसम्म एकतर्फी भाडा ७९ हजार ९ सय ९९ र काठमाडौंदेखि नारितासम्म एकतर्फी भाडा ६५ हजार ९ सय ९९ रहेको जनाएको छ।
त्यस्तै उडानमा ४६ केजी चेक–इन लगेज र सात केजी ह्यान्ड क्यारी लैजान मिल्ने पनि कम्पनी भनाइ छ। यो हवाईसेवाको सुरुआतसँगै, मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अब छेन्दुमा ४ घण्टा ३० मिनेट मात्रको छोटो समय ट्रान्जिट रहेकोले लामो समय ट्रान्जिटमा बस्नुनपर्ने भएको छ।
नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टको रूपमा गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।