ढोरपाटन– बागलुङको बडिगाड गाउँपालिकाले चालू आर्थिक वर्षको चैत महिनाभित्र सक्ने गरी ९९ दशमलव ९ प्रतिशत आयोजना सम्झौता गरेको छ।
गाउँपालिकाले चालू आवका लागि छुट्याइएका कूल तीन सय ३२ योजनामध्ये तीन सय २७ वटा योजना सम्झौता गरी काम सुरु गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले चैत मसान्तभित्र सबै योजना पूरा गर्ने गरी असोजदेखि नै आयोजना सम्झौता गरेको बताए।
उनका अनुसार हालसम्म एक सय पाँचवटा योजना सम्पन्न भइ फरफारक पनि भइसकेका छन्। गाउँपालिकाले यस वर्ष सबैभन्दा बढी लगानी सडक निर्माणमा गरेको छ। अहिलेसम्म सडकले नजोडिएका गाउँमा सडक पुर्याउनेदेखि शैक्षिक क्षेत्रको सुधारमा जोड दिएको उनको भनाइ छ।
‘यस वर्ष समयमै योजना सम्झौता सुरु गरेकाले समयमै काम सुरु गर्न सक्यौं’, उनले भने, ‘साना ठूला सबै योजना अहिले निर्माणका चरणमा छन्, केही योजना सम्पन्न भइसकेका छन्।’ उनले अबको एक डेढ महिनामा सबै योजना सक्ने गरी काम भइरहेको बताए।
चालू आर्थिक वर्षका लागि बडिगाड गाउँपालिकाले ७७ करोड बजेट बिनियोजन गरेको छ। साना तथा पालिकाका गौरवका आयोजना यस वर्ष समेटिएको भण्डारीको भनाइ छ।
गाउँपालिकाले यसवर्ष सबैभन्दा बढी बजेट पुरानोगाउँ–फोर्सा सडक वडा नम्बर ८ मा ४० लाख र किटेनीदेखि वडा नम्बर ३ जोड्ने सडकमा ४५ लाख विनियोजन गरेको उनले जानकारी दिए।
गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाएको बताइन्। यस वर्ष शिक्षा, स्वास्थ्य, खानेपानी र मोटरबाटोलाई प्राथमिकतामा राखेको उनको भनाइ छ। चालू आवको हालसम्म मोटरबाटो नपुगेको वडा नम्बर ८ को फोर्सा गाउँमा सडक पुर्याउनेगरी काम अघि बढेको उनले बताइन्।
‘नागरिकका पनि कैयन समस्या छन्, ती समस्यालाई क्रमशः समाधान गर्दै जानेछौं, अहिलेसम्म केही गाउँ बस्तीहरु सडक सञ्जालले जोडिएका छैनन्’, अध्यक्ष अधिकारीले भनिन्। उनका अनुसार हालसम्म चालू खर्चतर्फ ४० प्रतिशत र पुँजीगततर्फ २५ प्रतिशत खर्च भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।