काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का दुई महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन्।
निगमको उडान इतिहासमै पहिलोपटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाण्डौदेखि दुबई) भरेका हुन्। पाइलटद्वय भावना पन्त र को–पाइलट सिर्जना राउतको टोलीले काठमाण्डौ–दुबईका लागि अन्तर्राष्ट्रिय उडान गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
‘पाइलटद्वय भावना पन्त र सिर्जना गिरीले पहिलो पटक अन्तर्राष्ट्रिय उडान गर्नुभएको हो, निगमको उडान इतिहासमा यो पहिलो रेकर्ड पनि हो, आन्तरिकमा महिला पाइलटले उडाएको रेकर्ड छ तर अन्तर्राष्ट्रियमा यो पहिलो हो’, उनले भनिन्।
निगमका अनुसार दुई महिला पाइलटले निगमको एअरबस ए–३२० जहाज शनिबार राति ११ बजे काठमाडौंबाट दुबईका लागि उडान भरेका हुन्।
उनीहरू दुबईबाट यात्रु लिएर आउँदो बुधबार बिहान काठमाडौं फर्कने उडान तालिका रहेको छ। बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सबै चालक दलका सदस्यहरू महिला हुने जनाइएको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानमा चार जना न्यारोबडीमा र एक जना वाइडबडीमा गरी पाँच जना महिला पाइलट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।