काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले आईसीसी विश्वकप लिग २ अन्तर्गत सोमबार यूएईविरुद्ध हुने खेल गुमाउने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले ग्रोइङको समस्याका कारण भुर्तेलले खेल गुमाउने जनाएको छ। भुर्तेलको ठाउँमा मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले मौका पाउने भएका छन्।
विश्वकप लिग २ अन्तर्गत अहिले संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईमा नेपाल, पपुवा न्युगिनी (पीएनजी) र संयुक्त अरब ईमिरेट्स (यूएई)बीच त्रिकोणात्मक एकदिवसीय सिरिज भइरहेको छ।
सिरिजअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल सोमबार यूएईसँग खेल्नेछ। जारी सिरिजमा ३ खेल खेलेको नेपालले २ खेलमा पीएनजीलाई पराजित गरेको छ भने यूएईसँग हार बेहोरेको छ।
दुबईपछि यी ३ वटै टोलीबीच आगामी फागुन २५ गतेदेखि लिग २ को अन्तिम सिरिज नेपालमा हुँदै छ।
लिग २ को शीर्ष ३ टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् भने शीर्ष ५ टोलीको एकदिवसीय मान्यता जोगिनेछ।
स्कटल्याण्ड लिग २ को च्याम्पियन बनिसकेको छ। स्कटल्यान्ड सबै ३६ खेलबाट ५० अंक जोडेर च्याम्पियन बन्दा दोस्रो स्थानमा रहेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानमा रहेको नामिबियाले ३६ खेलबाट ३९ अंक बनाएको छ भने चौथो स्थानमा रहेको अमेरिकाले ३५ खेलबाट ३५ अंक बनाएको छ। पाँचौं स्थानमा रहेको यूएईले ३० खेलबाट ३१ अंक जोडेको छ।
३१ खेलबाट ३१ अंक जोडेको नेपाल अंकतालिकाको छैटौं स्थानमा छ। पुछारमा रहेको पिएनजीले ३१ खेलबाट ७ अंक जोडेको छ।
शीर्ष ३ मा पुग्दै विश्वकप छनोटमा स्थान बनाउन नेपालले बाँकी रहेका ५ वटै खेलमा जित निकाल्नुपर्ने छ। यस्तै, शीर्ष ५ मा रहेर एकदिवसीय मान्यता जोगाउनका लागि ३ खेलमा जित निकाल्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।