काठमाडौं- निर्धारित भन्दा बढी भाडा यात्रुबाट असुल्ने ५ जनालाई शनिबार बिहान काठमाडौंको बल्खुबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुविधा काउण्टरका कामदार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरका कामदार काठमाडौंको चन्द्रागिरी नगरपालिका-९ का ३६ वर्षीय सुनिल नगरकोटी रहेका छन्।
यस्तै, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका-८ का २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर-४ का २४ वर्षीय कृष्ण बहादुर योञ्जन रहेका प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले शनिबार बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दा बढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
चाडपर्व (होली)को अवसर पारेर काठमाडौंबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउण्टरबाट निर्धारित भन्दा बढी भाडा लिने गरेको जनगुनासो आएपश्चात सादा पोशाकमा समेत ट्राफिक प्रहरी परिचालित हुँदै आएका छन्।
निर्धारण गरिएको भन्दा बढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा लिइएका पाँचै जनालाई आवश्यक कारबाही लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।