काठमाडौं- नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)बिरुद्धको खेलमा सनसनीपूर्ण जित निकालेको छ। ओपनर आसिफ शेख अन्तिमसम्म क्रिजमा टिकेर नेपालका लागि महत्त्वपूर्ण जित दिलाएका छन्।
आसिफले १३० बलमा अविजित ८६ रन बनाए। ३४औं ओभरमा नेपालले सातौं विकेट गुमाएर १०५ रन बनाएको समयमा आएका लामिछानेले शेखसँग संयमपूर्ण साझेदारी गरे। नेपालको लगातार विकेट गुम्न थालेपछि सन्दिप नियमित भन्दा दुई स्टेप अगाडि ब्याटिङका लागि ल्याइएको थियो। नेपालको उक्त रणनीति सफल सावित भएको छ।
बलर लामिछानेको ब्याटबाट नेपालका लागि ५० बलमा ३५ निस्किएको छ। नेपालका अधिकांश ब्याटरहरुले दोहोरो अंक समेत जोड्न नसकेको अवस्थामा लामिछानेले उक्त योगदान गरेका हुन्। नेपालका लागि कुशल मल्लले २६ बलमा २३ रनको योगदान गरेर खेललाई लयमा ल्याउन सघाएका थिए।
टस जितेर ब्याटिङ रोजेको पीएनजीले दिएको १८० रनको लक्ष्य दिएको थियो। नेपालले ४८ ओभरमा ७ विकेट क्षतिमा पूरा गरेको हो।
खराब ब्याटिङको सुरुआत गर्ने क्रममा ओपनर कुशल भुर्तेल डकआउट भए भने तेस्रो क्रममा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल २० बलमा जम्मा ६ रन बनाएर पेभेलियन फर्किए।
यसैगरी, भीम सार्की ३५ बलमा जम्मा ८ रन बनाएर आउट भए। कप्तान रोहित पौडेल ८ बलमा एक रन र आरिफ शेख ३ बलमा एक रन बनाएर पेभेलियन फर्किए। दीपेन्द्र सिंह ऐरी १६ बलमा ८ रन बनाउँदै एलबीडब्लु धरापमा परे।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले दुई-दुई विकेट लिए। पहिलो सफलता भने सन्दीप लामिछानेले दिलाएका थिए। यसैगरी, करण केसी र कुशल मल्लले एक-एक विकेट लिए।
पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाए। हिरी हिरी ३१, कोल्पिन डोरिगा २६, गौडी टोका १५, नरम्यान भनुवा १४, सेसे बाउ र असद भाला ११ रनमा आउट भए। अन्यले भने दोहोरो अंक जोड्न सकेनन्।
शीर्ष तीनमा परेर सोझै एकदिवसीय विश्वकप छनोट खेल्नका लागि नेपालले अब हुने सबै ५ खेल जित्नुपर्ने हुन्छ। शीर्ष पाँचमा रहँदै ओडीआई मान्यता जोगाउन पनि कम्तिमा तीन खेल जित्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।