काठमाडौं– आफ्नो देशकी महिलालाई नेपाल बोलाएर यौन व्यवसायमा लगाएको आरोपमा युगाण्डाकी एक महिला पक्राउ परेकी छन्।
पर्यटक भिसामा नेपाल आई ठमेलस्थित होटलमा बस्दै आएकी युगाण्डाकी महिलालाई यौन व्यवसायमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-२९ ठमेलस्थित होटेल जर्नी होममा बस्ने युगाण्डा मासाका घर भएकी २५ वर्षीया नताशा भनिने इमाकुलेट नाबासुम्बालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
उनले नेपालमा क्लीनर, वेट्रेस लगायतको काममा मासिक ५ सय अमेरिकी डलर कमाई हुने तथा नेपाल आउने जाने हवाई टिकट, भिसालगायतको खर्च समेत कमाएर तिर्ने शर्तमा पीडितलाई नेपाल बोलाएको प्रहरीले जनाएको छ।
नेपाल बोलाएपछि विभिन्न व्यक्तिसँग शारीरिक सम्पर्क गर्नुपर्ने, नत्र उनी र उनको परिवारलाई मारिदिने सम्मको धम्की दिँदै शारीरिक सम्पर्क गर्न बाध्य पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पीडित महिला बिरामी भई काम गर्न नसक्ने अवस्था भएपछि होटलबाट निकालेको र युगाण्डा फर्कन लागेकी पीडितलाई टिकट रद्द गरिदिएको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
अभियुक्त आफैं यौन व्यवसायमा संलग्न हुँदै आएको र युगाण्डाका महिलाहरुलाई समेत नेपाल झिकाई यौन कार्यमा लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ।
ठमेलका विभिन्न नाइट क्लबहरुमा गई ग्राहकहरु खोजी ल्याउने र पीडितलाई वेश्यावृत्तिमा लगाई ग्राहकबाट प्राप्त रकम समेत आफैंले लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
नाबासुम्बाउपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।