काठमाडौं– आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि ८ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज (शुक्रबार) बागमती प्रदेश सभाका सदस्य (सांसद)का लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ।
यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ।
संयन्त्रको निर्णय बमोजिम बागमती प्रदेशका ८ वटै राजनीतिक दलका प्रदेश सभा सदस्यका लागि शुक्रबार दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यस बाहेक सबै प्रदेशमा सोहीअनुसारको राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम हुने कांग्रेसले जनाएको छ। यसअघि ८ दलले संघीय राजधानी काठमाडौंमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।