काठमाडौं– यू–१९ विश्वकपमा छनोट भएका खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।
बिहीबार यूएईसँग भएको खेलमा सनसनपूर्ण जित निकाल्दै नेपाल श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट भएको थियो। दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको हो।
सन् २०१६ यता पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकपमा छनोट भएकोमा बधाई दिँदै क्यानले आफ्नो तर्फबाट खेलाडीलाई जनही १ लाख दिने घोषणा गरेको हो। यसबाहेक पुरस्कार तथा सम्मान कार्यविधि अनुसार खेलाडीहरुले नेपाल सरकारबाट जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने छन्।
कार्यविधिमा विश्वकप छनोट नलेखिए पनि उमेर समूहको क्षेत्रीय एशियाली प्रतियोगिता विजेताले ३ लाख पाउने उल्लेख छ। नेपाल उमेर समूहको क्षेत्रीय प्रतियोगिता जितेर नै विश्वकपम पुगेको हो। जस अनुसार प्रशिक्षकले २ लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १ लाख पाउने छन्। यसबाहेक क्यानले पनि सरकारबाट २ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।