काठमाडौं– आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा यूएईलाई हराउँदै नेपाल विश्वकपमा पुगेको छ। यूएईलाई ६ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो।
योसँगै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा नेपालले खेल्नेछ।
जितका लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा १ सय ८५ रनमा अल आउट भयो।
दीपेश कँडेलले ४७औं ओभरमा तीन विकेट लिएर नेपाललाई विश्वकपमा पुर्याएका हुन्।
यूएईका लागि इथान डी सोल्झाले सर्वाधिक ५० रनको योगदान दिए। ओपनर अर्यान्श शर्मा ५० बलमा ४ चौकासहित ३२ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट भए।
पहिलो विकेटका लागि ओपनर अर्यान सक्सेना र अर्यान्शले १७.२ ओभरमा ६७ रनको साझेदारी गर्दै यूएईको सुरुआत राम्रो भएको थियो।
सुवास भण्डारीले अर्यान्शलाई आउट गर्दै पहिलो सफलता दिलाएका थिए। त्यसपछि नेपालले पाँच रनको अन्तरमा थप दुई विकेट लिँदै ७२-३ को अवस्थामा पुर्याएको थियो।
दीपेश कँडेलले अर्का ओपनर अर्यान सक्सेनालाई ६५ बलमा ३४ रनमा क्याच आउट गराए। सुवास भण्डारीले २२औं ओभरको अन्तिम बलमा कप्तान अर्यान्शलाई क्याच गराएपछि नेपाल खेलमा फर्किएको थियो।
स्पिनर दीपेश कँडेलको बलमा विशाल विक्रम केसीले लङअनमा सानदार क्याच लिँदै ध्रुव पराशरलाई १७ रनमा पेभेलिएन फर्काए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।