काठमाडौं– सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को अनुमतिपछि क्रिकेट खेल्न दुबई पुगेका सन्दीप लामिछानेले आज (बिहीबार) संयुक्त अरब ईमिरेट्स (यूएई) विरुद्धको खेल खेल्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई स्पिनर मौसम ढकालको स्थानमा खेलाउन लागेको हो। प्रशिक्षणका क्रममा घाइते भएपछि ढकाल रेस्टमा छन्।
यद्यपि सन्दीपलाई टिममा राख्ने वा नराख्ने भन्नेबारे अन्तिम निर्णय भने मुख्य प्रशिक्षक मोन्टी देशाइले गर्नेछन्।
आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत नेपालले बिहीबार यूएईको समना गर्दै छ। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११:४५ बजेदेखि सुरु हुनेछ।
सर्वोच्च अदालतले सोमबार सन्दीपले विदेश जान पाउने आदेश जारी गरेको थियो।
नाबालिक बलात्कारको अभियोग लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाएको थियो। आफूलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए। पाटन उच्च अदालतले उनलाई सर्तसहित २० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।
पाटन उच्च अदालतको सर्तअनुसार विदेश जान नपाउने भएपछि सन्दीप उक्त सर्त खारेजीको मागसहित सर्वोच्च पुगेका थिए। जसमा सर्वोच्चले उनको पक्षमा आदेश दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।