काठमाडौं– प्रदेश १ को नाम ‘कोशी’ राख्न बुधबार बिहान सहमति दिएको नेपाली कांग्रेस प्रदेश सभा बैठक सुरु नहुँदै पछि हटेको छ। प्रदेश सभा बैठकमा दर्ता भएको प्रस्तावमा नेपाली कांग्रेसले समर्थन फिर्ता लिने निवेदन दिएपछि नामाकरण फेरि अन्योलमा परेको छ।
बुधबार बिहान एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई तथा कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसद्मा दर्ता भएको थियो। तर, नेपाली कांग्रेसभित्र विवाद बढेपछि संसद् सचिवालयमा फिर्ताका लागि निवेदन दिइएको एक नेताले बताए।
प्रस्ताव दर्ता भएको केही घण्टापछि कांग्रेसका राजवंशीले प्रदेश सभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको निवेदन दिएका थिए। पहिलाको प्रस्तावबाट कांग्रेस किन पछि हट्यो भन्ने खुलाइएको छैन।
प्रदेश १ को नाम ‘किरात लिम्बुवान सगरमाथा’ राख्न प्रदेश सभामा अर्को प्रस्ताव पनि दर्ता भएको छ। यस्तो अवस्थामा कांग्रेसले समर्थन फिर्ता लिएपछि एमाले सशंकित भएको छ।
प्रदेश नामाकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ। प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ जना सांसद छन्।
अहिलेकै अवस्थामा दुवै प्रस्तावमा आवश्यक मत नपुग्ने देखिन्छ। एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने कोशी प्रदेशको प्रस्ताव पारित हुने दाबी गरे। नेपाली कांग्रेसले सर्मथन फिर्ता लिएको आफूले जानकारी पाएको तर, प्रदेश सभाबाट पारित गर्न सबैले मत दिने विश्वास रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।