काठमाडौं– प्रदेश १ को नामाकरणका लागि दुई वटा प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेले नेपाली कांग्रेस र माओवादी केन्द्रको सर्मथनमा कोशी प्रदेशको प्रस्ताव दर्ता गराएको छ।
कोशी प्रदेश नामाकरणका लागि दर्ता गरिएको प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेका निरन राई समर्थक छन्।
उक्त प्रस्तावमा चित्त नबुझेको भन्दै प्रतिपक्षमा रहेको एकीकृत समाजवादी र सत्तामा रहेको जनता समाजवादी मिलेर नयाँ प्रस्ताव प्रदेश सभामा दर्ता गरेका छन्। उनीहरूले उक्त प्रदेशको नाम किरात–लिम्बुवान–सगरमाथा प्रदेश हुनुपर्ने प्रस्ताव गरेका छन्।
नामाकरणका लागि दर्ता गरिएको प्रस्तावमा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स्वास्थ्यमन्त्री तथा जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बू र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु समर्थक छन्। अब यी दुईवटा नाम सदनमा प्रस्ताव हुने छ। प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेश नामकरणका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गरेका थिए। उक्त आह्वानपछि दलहरू सहमतिका लागि छलफलमा केन्द्रित भए। बुधबार बिहान एमालेले कांग्रेस र माओावादीसँग सहमति गर्दै प्रदेश सभामा कोशीको प्रस्ताव दर्ता गरिएको बताएको छ।
प्रदेश नामाकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ। प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ जना सांसद छन्। यसरी हेर्दा एमालेको प्रस्ताव बहुमतले पारित हुने देखिन्छ।
प्रदेशको नाम पहिचानसहितको हुनुपर्ने विवादकै कारण अघिल्लो प्रदेश सभाले नाम नै टुङ्ग्याउन नसकेपछि यसपटक सुरुमै छलफल गरिएको हो। अन्य प्रदेशहरूले नाम टुङ्गो लगाउँदा प्रदेश १ मा बाँकी रहेको थियो।
कांग्रेस कोशीको पक्षमा उभिएको भन्दै कांग्रेसभित्र समेत विवाद सुरु भएको छ। कांग्रेस सांसद भूमिप्रसाद राजवंशीले आफूहरू उक्त नाममा सहमत नभएको बताए। तर, अर्का कांग्रेस सांसद रामकुमार खत्रीले दलको सहमति अनुसार नै मतदान गर्ने बताए। माओवादी केन्द्र भने कोशीमै मत दिने पक्षमा उभिएको छ। पहिचान राख्नका लागि बहुमत पुग्ने सम्भावना नभएकोले नामाकरण टुङ्ग्याउनेतिर उनीहरू लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।