काठमाडौं– चितवनमा नारायणी नदीमा हामफालेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ।
भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट सोमबार बेलुका नारायणी नदीमा हामफालेका खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतोको सशस्त्र प्रहरीले उद्धार गरेको हो।
उनले नदीमा हामफालेलगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदीको बीचबाट जीवितै उद्धार गरेको हो।
सम्पर्कविहीन घिमिरेको शव भेटियो
तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङदीमा नदीमा बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार फेला पारेको छ।
आँबुखैरेनी गाउँपालिका–३ बस्ने ३६ वर्षीय घिमिरे यही फागुन १२ गतेदेखि सम्पर्कविहीन थिए। उनले प्रयोग गरेको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मर्स्याङदी नदीको किनारामा रोकीराखेको अवस्थामा फेला परेपछि उनी हराएको आशंका गरिएको थियो।
त्यसपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी कार्य गर्दा उनको शव झोलुङ्गे पुलमुनि पानीभित्र फेला पारेको हो।
शव पोष्टमार्टमका लागि स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।