काठमाडौं– नेपालले आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई चार विकेटले हराएको छ।
नेपालको यो लगातार पाँचौं जित हो। नेपालले अघिल्लो साता घरेलु मैदान टियुमा स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराउँदै सिरिज जितेको थियो।
जितको लागि २ सय ४ रनको लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ बलमा सर्वाधिक ५६ रन बनाए।
नेपाललाई ओपनर आसिफ शेख र कुशलले पहिलो विकेटका लागि १४.५ ओभरमा ७६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।
ओपनर आसिफ शेख ३९ बलमा ४४ रन बनाउँदै आउट भए। ज्ञानेन्द्र मल्ल १० बल खेल्दै चार रनमा बोल्ड आउट भए। कप्तान रोहित पौडेल २० रनमा आउट भए । आरिफ शेखले ५९ बलमा १ चौकासहित ३० रन बनाए।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो।
युएई र पपुवा न्युगिनीसँग अन्तिम ८ खेलको सिरिज खेलिरहेको नेपालले ७ खेल जितेर टप ३ मा पर्दै विश्वकप छनोट खेल्ने लक्ष्य लिएको छ। ओडिआई मान्यता जोगाउन कम्तिमा पाँच खेल जित्नुपर्ने हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।