काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दा फास्ट ट्रयाकबाट फैसला गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ।
सन्दीपले विदेश जान पाउनु पर्ने र धरौटी रकम बढी भएको भन्दै दायर गरेको रिट र सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले थुनामै राख्नुपर्ने भन्दै दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले यस्तो फैसला गरेको हो।
सन्दीप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी भएको भन्दै उक्त मुद्दाको फैसला फास्ट ट्रयाकबाट गर्नुपर्ने भन्दै सोमबार यस्तो आदेश दिएको हो।
खेलाडीको क्रिकेट जीवनलाई समेत मध्यनजर गर्दै लगातार हेयरिङमा राखेर मुद्दाको छिटो फैसला गर्न सर्वोच्चले भनेको छ। योसँगै अब काठमाडौं जिल्ला अदालतले सन्दीपको मुद्दा छिटो फैसला गर्नुपर्ने भएको छ।
त्यसैगरी, सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान पनि अदालतले अनुमति दिएको छ। यसअघि उच्च अदालत पाटनले सन्दीपलाई काठमाडौंबाहिर जान नपाउनेगरि २० लाख धरौटीमा रिहा गरेको थियो। उच्चको निर्णयपछि सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दायर गरेको पुनरवलोकन निवेदन दिएको थियो भने सन्दीपले विदेश जान पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए।
दुवै मुद्दामा आइतबार र सोमबार एकै न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ भएको थियो। सर्वोच्चदले धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई सदर गरेको छ। यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थुनामा पठाउने आदेश गरेको थियो। उक्त आदेशविरुद्ध उनी उच्च अदालत पुगेका थिए।
सन्दीपविरूद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।