काठमाडौं– ज्योति विकास बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। आइतबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्त्वमा साधारणसभा सम्पन्न भएको हो।
साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर तथा ३.८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकले ३ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी रू. ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार पुगेको छ। यसैगरी साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।
साथै, सभाले बैंकको आ.व. २०७९/८० को लेखापरिक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि. को आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।