काठमाडौं- आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पपुवा न्युगिनिया (पीएनजी)विरुद्धको खेलमा नेपालले २०४ रनको मध्यम लक्ष्य पाएको छ। ५० ओभरमा ९ विकेट गुमाउँदै उक्त योगफल तयार गरेको हो।
टस जितेर पहिला फिल्डिङ गरिरहेको नेपालका लागि गुल्सन झाले उत्कृष्ट प्रदर्शन गरे। ९ ओभर बलिङ गरेका उनले २८ रन दिएर तीन विकेट लिए।
यसैगरी, कुशल मल्लले २ र सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान एक-एक विकेट लिए। अलराउन्डर दीपेन्द्र सिंह ऐरीले कसिलो बलिङ गरे। ९ ओभर बलिङ गरेका उनले एक मेडनसहित जम्मा २२ रन खर्चिए।
पीएनजीका लाथ चाँद सोपर र असद भालाले समान ३६ रन बनाए। यसैगरी सेसे बाउ ३१, किपलिन दोरिगा २९, नोर्मन भानु २५ र हिरि हिरिले १० रनको योगदान दिए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
८ खेलको यो सिरिजमा नेपालले ७ वटा जितेमा उत्कृष्ट तीनमा पर्दै विश्वकप छनोट खेल्नेछ भने एकदिवसीय मान्यता कायम राख्न कम्तिमा पाँच खेल जित्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।