काठमाडौं– महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तको बिदाइ गरिएको छ।
सोमबार पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई २ सय रुपैयाँदेखि बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको हो।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २०० देखि सुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको बताए।
उनले गुठी संस्थानले पहिला तोकेर पैसा दिने गरे पनि कोषलाई भने त्यो नियम लागू नहुने भएकोले साधुहरुको सम्मानस्वरुप दक्षिणा दिएर पठाएको बताए।
उनले साधुहरुलाई दक्षिण उनीहरुको सम्मानको संकेत रहेको भन्दै साधुहरुलाई सबैले सधैं सम्मान व्यवहार गर्नुपर्ने बताए। शिवरात्रिका बेला साधुहरुले भक्तजनबाट पनि दक्षिणा पाएको र कोषको तर्फबाट पनि दक्षिणास्वरुप साधुसन्तहरुलाई बिदाइ गर्ने प्रचलनअनुसार दक्षिणा दिइ आज बिदाइ गरिएको उनले बताए।
साधुसन्तहरुलाई कोषले एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको छ। महाशिवरात्रीमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अन्य मुलुकबाट पनि साधुसन्तहरु उपस्थित रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।