‘सुनाखरी सबैभन्दा सुन्दर फूल हो। तर यो अर्कैको आडमा फुल्छ। हाम्रा सुनाखरी पनि त अर्कैको देशमा फुलिरहेका छन्!’
म्युजिकल फिल्मका निर्देशक नवीन चौहानले ‘सुनाखरी संवाद’का क्रममा भनेका थिए। उनी भर्खरै आर्टमाण्डूको युट्युव च्यानलबाट सार्वजनिक म्युजिकल फिल्म ‘सुनाखरी’को कथा सुनाउँदै थिए।
यस्तो कथा,
जहाँ घामसँगै ओर्लिरहेको क्यामेराको लेन्सले लेकमा रुँघिरहेको एक्लो घर देखाउँछ। ‘सुनाखरी’जस्ता सन्तानको प्रतीक्षा गरिरहेका बुढा बा आमाको उदास अनुहार देखाउँछ।
र देखाउँछ सन्नाटासँगै फैलिरहेको कुहिरो।
त्यो सन्नाटालाई छानोमा बजिरहने पानीले चिर्ने प्रयत्न गर्दो हो। बतासले धकेल्ने प्रयत्न गर्दो हो। तर, त्यसलाई चिर्ने त दम्पतीले आपसमा साँचेको प्रेमिल मुस्कानले नै हो। ‘हामी कसैको जिन्दगी पनि हुन सक्छौं। अगाडि मात्र हिँड्दा कहिलेकाहीँ पछाडिका कुरा देखिन्न,’ नवीन भन्छन्।
यो कथाले हामीलाई पछाडि फर्काउँछ। हामीलाई पर्खिरहेको माटो, माटोमै जीवन उमारिरहेका बा आमाको आँगनसम्म। र ‘सुनाखरी’ले घरको आँगनसम्म पुर्याएर ७०औं वसन्त काटिसकेका बा आमाको जीवन गाउँछ।
यो हाम्रो सेरोफेरो
न तिम्रो न मेरो
बादलु किनारा चाँदीको घेरो
सँगीतमा बगिरहेको उज्ज्वल सागर र विद्या तिवारीको आवाजले हृदयमा नवीन धुन सिर्जना गर्छ। हर्क साउदका शब्द, पूर्वेली भाका र मिश्रित मुन्धुमले गीत बगिरहन्छ। ‘तीन महिना लाग्यो कम्पोज गर्न। ६ वटा कम्पोज सकिसक्दा सम्म सकिएको थिएन सुनाखरी,’ गायक तथा कम्पोजर उज्ज्वल पृष्ठभूमिका कथा सुनाउँछन्।
आर्टमाण्डूसँग उज्ज्वलको यो पहिलो सहकार्य हो। नवीनले धेरै अघिदेखि सोचेका थिए उनीसँग सहकार्य गर्ने। जब ‘सुनाखरी’ खिचेर इलामको माइमजुवाबाट नवीन झर्दै थिए, उनले उज्ज्वललाई फोन गरे, ‘अब हाम्रो सहकार्य जम्ने भयो।’
‘सुनाखरी’को भिडियोमा एउटा कथा छ। सन्तान पर्खिरहेका वृद्ध दम्पती। जसको छोरा–बुहारी विदेशमा छन्। हरेक दिन छोराको तस्बिर हेरेर टोलाइरहने आमाको अनुहारमा बाबु ‘सुनाखरी’ फुलाउने प्रयत्न गरिरहन्छन्।
निर्देशक नवीन यो कथा बुन्दै गर्दाको क्षण सुनाउन चाहन्छन्। अघिल्लो वर्ष उनी ‘घुमीघुमी’ खिचेर काठमाडौं फर्केनन्। इलाममै बसे। गाउँबाट एकदिन उनले डाँडाको लेक नियाले। भोलिपल्ट त्यो डाँडामा जान मन लाग्यो। एकदिन हिँडेर जब उनी लेकको एउटा गोठमा पुगे, कथा झुल्किहाल्यो।
कुमारध्वज राई र कुशमाया राई ‘सुनाखरी’का पात्र थिए। कुमार ७१ वर्षका, कुशमाया ७३।
उनीहरू लेकको घरगोठमा दुई जना मात्र बस्थे। भिडियो खिच्ने कुरामा कुशमाया सहमत थिइनन्। तैपनि घरमा आएको पाहुनाका कारण उनीहरू खुसी थिए।
‘खिचौं न, खिच्यो भने त पछिलाई सम्झना हो,’ कुमारध्वजले सम्झाए। नवीनले सोचेका थिए, सुटिङ सकिन पाँच दिन लाग्छ।
तर १९ घण्टामा सकियो।
त्यो बीचमा केही रमाइला संयोग पनि जुरे। जस्तो कि पानी पर्ने सिन थिएन स्क्रिप्टमा। अचानक पानीसहित हिउँ पर्न थाल्यो। नयाँ सिन जुरिहाल्यो। कुमारध्वज पानीमा रुझ्दै आएको दृश्य खिचे। अनि घरको झ्यालबाट कुशमाया श्रीमान्लाई पर्खिरहेको दृश्यले कथालाई थप सुन्दर बनाइदियो।
‘त्यसकारण यो कथा मैले गरेको भन्दा पनि ममार्फत् आयो कि भन्ने मात्र लाग्छ,’ नवीन ती क्षण सम्झँदै भन्छन्।
एउटा सिनको कथा नवीन सम्झन्छन्। कुमारध्वज रिसाएर चिया भरिएको डबका फाल्नुपर्ने सिन। त्यो सिन बुझाउँदै गर्दा दम्पती अस्वभाविक मुद्रामा हाँसे। हाँसो नरोकिएपछि नवीनले सोधे, ‘किन हाँस्नुभयो यसरी?’
‘उहाँ रिसाउँदा यस्तै गर्नुहुन्छ। ठ्याक्कै मिलेको,’ हाँसो नरोकिकनै कुशमायाले बताइन्।
खिच्दै गर्दा दम्पतीको प्रेम देख्दा उनीहरूको टिम दंग पर्यो। ‘श्रीमतीलाई हिँड्न गाह्रो हुन्छ भनेर कुमारध्वजले लठ्ठी बनाइदिनुहुन्थ्यो। भाँडा माझिदिनुहुन्थ्यो। सबै काम आफैं गरिदिनुहुन्थ्यो,’ नवीन सम्झन्छन्।
कुमारध्वजले गरेको एउटा प्रेमिल ठट्टा थियो, ‘चिसोमा धेरै हिँडी, त्यही भएर चाउरीइ मेरी बुढी!’ उनको ठट्टामा को नहाँसोस्!
एकदिन परिवार जसरी बस्यो आर्टमाण्डू टिम। सकिएर जाने बेलामा दम्पतीको मन चिसो भयो। नवीनले पारिश्रमिक दिन खोजे। उनीहरूले लिन मानेनन्। मन दुखाउँदै कुमारध्वजले भने, ‘हामीले उल्टै दिनुपर्ने। आएर हामीलाई खुसी पारिदिनुभयो। पर्दैन।’
त्यसरी मीठो आत्मीयता साटेर नवीन काठमाडौं फर्किए।
एक वर्षपछि म्युजिकल फिल्म प्रदर्शन भयो। कविताजस्ता दृश्यहरूले भावनाका कथा भने। सम्बन्धका कथा भने। खुसीका कथा भने, पीडाका कथा भने।
अर्कैको देशमा फुलिरहेका ‘सुनाखरी’का कथा भने। जसलाई कुशमाया र कुमारध्वजजस्ता बा आमाले पर्खिरहेका छन्।
हेर्नुहोस् भिडिओ :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।