काठमाडौँ– अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ।
अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका रहेको छ।
‘फिल्मले गाउँमा चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको छ,’ निर्देशक सापकोटा भन्छन्, ‘फिल्म सत्यकथा प्रेरित हो। तर कथालाई सकेसम्म मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने प्रयास गरिएको छ।’
फिल्ममा महेश त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापा मगर मियाको चरित्रमा छिन्।
‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।
यसैगरी फिल्म नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो।
यो फिल्ममा महेश र बिनिताबाहेक, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ।
फिल्मलाई विक्रमसँगै विप्लव प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन्। चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन्।
फिल्मको सम्पादन पनि विक्रम स्वयंको हो। फिल्मलाई काठमाडौँमा करन श्रेष्ठ र जीजीए ग्रुपले वितरण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।