काठमाडौं– सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डेलाई ७ वर्ष कैदको सजाय तोकिएको छ। यसअघि पाण्डेलाई मानव बेचबिखन तथा ओसार पसारको कसूरमा दोषी ठहर गरिएको थियो भने सजाय निर्धारण हुन बाँकी थियो।
सोमबार सजाय निर्धारण गर्दै ७ वर्ष कैद र पीडितलाई ७५ हजार क्षतिपूर्ति गराउने निर्णय गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। पाण्डेलाई बालयौन दुराचार र मानव बेचबिखनको कसूरमा दोषी ठहर गरिएको थियो।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलसाले पाण्डेलाई माथिका दुई अभियोगमा दोषी ठहर गरेको थियो। यसअघि जिल्लाले बालयौन दुर्व्यवहारमा ६ महिना कैद र ५० हजार जरिवाना तोकेको थियो।
पाण्डेमाथि आठ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको आडमा बलत्कार गरेको आरोप पीडित युवतीले लगाएका थिइन्। तत्कालीन समयमा उनी नाबालिग थिइन्।
तर, आठ वर्षसम्म उनले उक्त घटना सार्वजनिक गर्न नसक्दा बलात्कारको मुद्दामा हदम्याद गुज्रेको थियो। केही समयअघि मात्र पीडितले सामाजिक सञ्जालबाट आफूमाथि भएको घटना सार्वजनिक गरेकी थिइन्।
लगत्तै न्यायका लागि आवाज उठेको थियो। जाहेरी दिँदै पाण्डेमाथि अनुसन्धान भएको थियो। अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।