काठमाडौं– बाल यौन दुरुपयोगमा कैद जीवन बिताइरहेका पल शाह (पूर्णविक्रम शाह) लाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ।
जिल्ला अदालत पूर्वी नवलपरासीले बाल यौन दुरुपयोगमा दोषी ठहर गरेपछि उक्त फैसलाविरुद्ध शाह उच्च अदालत पोखरा पुगेका थिए।
शाहको रिटको सुनवाइ गर्दै सोमबार उच्च अदालत पोखराले शाह र पीडित भनिएकी बालिका दुवैलाई १५ दिनभित्र अदालत उपस्थित गराउन आदेश दिएको हो।
न्यायाधीश डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। बलात्कार मुद्दामा शाहलाई सफाइ दिँदै पूर्वी नवलपरासी अदालतले बाल यौन दुरुपयोगमा भने दोषी ठहर गरेको थियो। उक्त मुद्दामा दोषी ठहर शाहलाई साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्तिवापत तिराउने फैसला गरेको थियो।
उक्त फैसलाविरुद्ध शाह उच्च अदालत पुगेका थिए। शाहविरुद्ध जिल्ला अदालत तनहुँमा परेको बलात्कारको मुद्दामा भने उनले सफाइ पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।