काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच कम्युनिस्ट र वामपन्थी–समाजवादी शक्तिहरुको साझा मोर्चा बनाउनेबारे छलफल भएको छ।
आइतबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका थिए। पार्टीका नेता खड्क बहादुर बिश्वकर्मा (प्रकाण्ड)सहित बालुवाटार पुगेका विप्लवले प्रचण्डसँग समसामयिक राजनीतिक र नेपाली कम्युनिस्ट आन्दोलनको विषयमा छलफल भएको जनाएका छन्।
प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार २ नेताबीच माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे गहन छलफल भएको थियो। तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे नेताहरुबीच समझदारी भएको तिमिल्सिनाले जानकारी दिए।
माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएका उनको भनाइ छ।
भेटका क्रममा नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो राखेका थिए। सो क्रममा प्रधानमन्त्रीले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बन्दीहरू रिहाइका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।