काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार काठमाडौंमा पत्रकार सम्लेन गरी पत्रकार तथा सञ्चार संस्थाका सन्दर्भमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ लगायत पेसागत संघ–संस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। पत्रकार महासंघले लामिछानेको अभिव्यक्ति धम्कीपूर्ण भएको बताउँदै निन्दा गरेको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघले संसद्को चौथो ठूलो दलका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री समेत रहिसकेका व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार भएको जनाएको छ।
महासंघका महासञिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठन र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ। लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् सभापति लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न
चाहन्छ।’
सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासंघको ठहर छ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित हुने छैन,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै, पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले पनि वज्ञप्ति जारी गर्दै लामिछाने धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको बताएको छ। ‘सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको हाम्रो ठहर छ,’ पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका महासचिव रामकुमार शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यस्तै, पेसाकर्मी संघ–संस्थाहरु नेपाल प्रेस युनियन लगायतले पनि लामिछानेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।