काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा रहेका मन्त्री र राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका छन्।
पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपाको तर्फबाट मन्त्रिपरिषद्मा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर मन्त्री पदबाट राजीनामाको पत्र बुझाएका हुन्।
यसअघि आइतबारै बसेको रास्वपा संसदीय दल र केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। यद्यपि रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम रहने बताएको छ।
अमेरिकी राहदानी (नागरिकता) ‘त्यागेर’ नेपाली नागरिकता पुन: प्राप्ति नगरेको भन्ने मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट ‘दोषी’ ठहर भएपछि रास्वपाका सभापति लामिछानेको उपप्रधान तथा गृहमन्त्रीसँगै प्रतिनिधि सभा सदस्य पद खारेज भएको थियो।
सर्वोच्चको फैसलाअनुसार पुन: नेपाली नागरिकता लिएर पार्टीको सभापति बनेका लामिछाने गैरसांसद मन्त्रीको रुपमा सरकारमा सहभागी भएर पुन: गृह मन्त्रालयको नेतृत्व गर्ने प्रयासमा थिए।
उनले प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पटक–पटक भेटेर पुन: गृहमन्त्री बनाउन माग गरेका थिए।
तर प्रधानमन्त्री प्रचण्डले लामिछानेसँगै रास्वपालाई समेत गृहमन्त्री पद दिन नसकिने बताउँदै आएका थिए। लामिछानेले पुन: गृहमन्त्री पद नपाएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।