काठमाडौं– नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्मा विश्वासको मत दिँदा आफूहरुले हार्दिकता देखाएको दाबी गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै गुरुङले उक्त दाबी गरेका हुन्। गुरुङले देशमा चरम आर्थिक संकट रहेकोले त्यसलाई उकास्न प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन्। उनले आफूहरुले कुनै पदमा आशक्ति नदेखाएको जिकिर पनि गरेका छन्।
‘भयानक आर्थिक संकट अहिलेको समस्या हो। यो समस्या साझा समस्या हो। चालू खर्च धान्न सकिरहेको छैन राजश्वले। विदेशी सञ्चिती मुद्रा घटिरहेको छ। यो समस्या समाधान गर्नुपर्छ। साझा समाधान खोज्नुलाई हामीले भन्यौं। प्रमुख प्रतिपक्षमा बसेर भन्यौं–तपाईं दह्रो खुट्टा टेक्नुहोस् भनेर हामीले विश्वासको मत दिएका थियौं। तर, हामीले विश्वासको मत दिँदै गर्दा सत्तापक्षको नेताहरु कसैलाई टाउको दुख्ने, कसैलाई पेट दुख्ने, कसैलाई ज्वरो आएको पनि देख्यौं। यस्तो दुर्दशा छ मुलुकको,’ गुरुङले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै गर्दा हाम्रो पदप्रतिको आशक्ति हैन, प्रतिपक्षीको त्यो हार्दिकता थियो। यो भयानक आर्थिक संकट मोचनका लागि हामीले विश्वासको मत दिएका थियौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।