काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीको दाबी नरहेको बताएका छन्।
शनिबार नेपाली कांग्रेसले बोलाएको विपक्षी दलका नेताहरुको बैठकमा सहभागी भएर बाहिरिने क्रममा अध्यक्ष नेपालले सो कुरा बताएका हुन्।
आफूहरुसँग कुनै पनि दलले मत नमागेको अध्यक्ष नेपालको भनाइ छ। ‘व्यक्तिले माग्नु एउटा कुरा हो। तर राजनीतिक दलमध्ये कसैले पनि भनेका छैनन्। त्यसैले परिस्थिति कस्तो हुन्छ, त्यसका आधारमा हामी फेरि बसेर कुरा गरौंला’, उनले भने।
उनले आफूहरुले सबै पक्षको कुरा सुन्ने र एउटा टुंगोमा पुग्ने बताए।
शनिबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेताहरुको बैठक बसेको हो। बैठक राष्ट्रिय सभाको आसन्न निर्वाचनको सन्दर्भमा केन्द्रित थियो।
राष्ट्रिय सभाको उपाध्यक्षको पद रिक्त छ। त्यसका लागि आइतबार उम्मेदवारी मनोनयन र सोमबार निर्वाचन हुँदैछ। ‘त्यस विषयमा थोरै सरसल्लाह र कुराकानी भएको छ’, कांग्रेसका मुख्य सचेतक रमेश लेखकले भने।
अहिले ५८ सदस्यीय रहेको राष्ट्रिय सभामा एमालेको १६ सिट, माओवादी केन्द्रको १५ सिट, कांग्रेसको १० सिट, एकीकृत समाजवादीको ८ सिट, जसपाको ३ सिट, लोसपाको १ सिट, राजमोको १ सिट र स्वतन्त्र एक सिट छन्। त्यस्तै, राष्ट्रपतिबाट मनोनित ३ सिट छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।