काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक बस्दैछ। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछि पहिलोपटक नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले शनिबार दिउसो उद्घाटन गर्नेछन्।
अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र महासचिव डा बेदुराम भुसालले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिने छ।
प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
सरकारको कार्यशैली मूल्यांकन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले संगठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ। बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ।
संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ। आफ्ना सबै कमिटी, विभाग र मोर्चा संगठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको एसले संगठन निर्माणलाई जोड दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।