काठमाडौं– चलचित्र विकास बोर्डले दुवईमा फागुन १ देखि ३ गतेसम्म गर्न लागेको‘नेपाली सिनेमा फेस्ट २०२३’मा कलाकार नीर शाहले सहभागी नहुने निर्णय गरेका छन्।
सोमबार षड्कोण आर्टस्ले ‘महापुरुष’लाई अनुमति नलिई बोर्डले कार्यक्रममा समावेश गरेको भन्दै बहिष्कार गरेपछि फेस्टिभल विवादमा तानिएको थियो।
शाहले कार्यक्रम विवादमा तानिएपछि आफू नजाने निर्णय गरेको नेपाल लाइभलाई बताए। ‘मैले हिजो धेरै सोचविचार गरेँ। नेपालमा मैले महापुरुष हेर्न पाएको थिइनँ। बोर्डबाट दुवई जान प्रस्ताव गरिएको थियो। दुवईमा त्यही फिल्म हेर्न पाइन्छ भनेपछि हुन्छ भनेको थिएँ,‘ उनले भने, ‘तर अनुमति विनै फिल्म राखिएको रहेछ। अब विवादित भइसकेपछि मैले नजाने निर्णय गरेँ।’
शाहले आफूलाई थाहै नदिई पोस्टरमा फोटो राखिएकोमा पनि आपत्ति जनाए। शाहलाई कार्यक्रममा को को जाने भन्ने कुरा पनि आयोजकले जानकारी दिएको थिएन। ‘हरिवंश जान्छन् भनेका थिए। उहाँ पनि हुनुहुँदो रैनछ। मेरो फोटो पनि पोस्टरमा राखिएको रहेछ, मलाई थाहै थिएन,’ उनले भने।
उक्त फेस्टिभलमा बोर्डले विवादित कम्पनी सूर्य कर्पोरेशन प्राइभेट लिमिटेडलाई साझेदार बनाएका कारण पनि विवादमा तानिएको थियो।
यो पनि पढ्नुहोस् :
विवादमा सिनेमा फेस्ट : ‘महापुरुष’ टिमको बहिस्कार, दुविधामा दुबई जाने कलाकार
दुबईमा हुन लागेको ‘नेपाली सिनेमा फेस्ट’लाई ‘महापुरुष’ टिमले गर्यो बहिस्कार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।