काठमाडौं– सुनसरीको इटहरी उपमहानरपालिका–२ तरहरा दंगाल टोलका टंकप्रसाद ढुंगाना २ दशकदेखि वेपत्ता छन्। कसैलाई केही नभनी सुनसरीको तरहरास्थित घरबाट २०६० साउनमा निस्केका टंकप्रसाद अहिलेसम्म सम्पर्कविहीन छन्। उनी कस्तो अवस्थामा छन्, परिवारले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।
टंकप्रसादको परिवार करिब २ वर्षदेखि उनको पर्खाइमा छ। उमेरले ५५ काटिसकेका टंकप्रसादका बारेमा खोजी गरिदिन भन्दै स्थानीय प्रहरीदेखि प्रशासनसम्म सबैतिर निवेदन दिए पनि २ दशकसम्म दाईको अवस्था पत्ता लाग्न नसकेको बहिनी रेखा ढुंगानाले सुनाइन्।
यसअघि पनि २०३९ सालदेखि २०५८ सालसम्म टंकप्रसाद वेपत्ता भएका थिए। घरबाट स्कूल जान भनेर २०३० सालमा हिँडेका टंकप्रसाद बल्ल २०५८ सालमा घर फर्किएका थिए। भारतीय सेनामा भर्ती भएका उनकै गाउँले गोपाल थापाले अरुणाञ्चलमा टंकप्रसाद जस्तै व्यक्ति देखेपछि फोटो खिचेर तरहरास्थित परिवारमा पठाएका थिए।
परिवारले पनि उक्त व्यक्ति टंकप्रसाद नै भएको ठहर्याएपछि गोपालले उनलाई घर फर्काएका थिए। त्यतिबेलासम्म टंकप्रसादले दोलखा घर भए भारतमै बस्दै आएकी कल्पना खड्कासँग बिहे गरेर घरजम गरेका थिए। उनका एक छोरा र एक छोरी पनि थिए। गोपालकै आग्रहमा टंकप्रसाद श्रीमती र छोराछोरी लिएर १९ वर्षपछि आफ्नो घर तरहरा फर्किए। त्यसको २ वर्षपछि फेरि २०६० साउनदेखि टंकप्रसाद वेपत्ता भएको बहिनी रेखाले बताइन्।
श्रीमान्को पर्खाइमा केही वर्ष बिताए पनि उनी नआएपछि श्रीमती कल्पना पनि छोराछोरी लिएर आफ्नो माइत भारत गएकी छन्। यता टंकप्रसादको परिवार भने उनको पर्खाइमा बसिरहेको छ।
‘दाइको पर्खाइमा वर्षौं बित्यो। खोजी गरिदिन भन्दै धेरैपटक प्रशासन पनि धाइयो। तर अहिलेसम्म कुनै अत्तोपत्ता लगाउन सकिएन,’ बहिनी रेखाले भनिन्, ‘बाबुआमा पनि अझै छोरो आउने झिनो आशामा हुनुहुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।