काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजश्व परिचालनको अवस्था गत वर्षको तुलनामा अत्यन्त कमजोर भएको बताएका छन्।
प्रवासी नेपाली मञ्च अमेरिकाको शिक्षा तथा सीप विभागले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यसवर्षको मंसिर मसान्तसम्मको राजश्व परिचालनलाई गतवर्षको सोही अवधिसम्म तुलना गर्दा करिब २० प्रतिशत कम भएको जानकारी दिए।
‘राजश्वको लक्ष्य कहिले पूरा हुन्छ कहिले पूरा हुँदैन तर गतवर्षको जति पनि परिचालन गर्न नसक्नु चिन्ताको कुरा हो,’ अर्थमन्त्री पौडेलले भने, ‘भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट जोगाएर ल्याएको अर्थतन्त्रलाई अहिले कुनै प्रतिकुलता नहुँदा पनि जोगाउन निकै कठिन भएको छ।’
राजश्वले सामान्य खर्चसमेत धान्न नसकेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले अहिले वैदेशिक सहयोगमा पनि नेपाल पछि परिरहेको बताए। ‘नेपाली अर्थतन्त्रलाई लयमा फर्काउनका लागि सरकार क्रियाशिल भएको छ, र अर्थमन्त्रीको रुपमा म यसपट्टी केन्द्रित छु,’ पौडेलले भने, ‘नेपाली अर्थतन्त्रलाई जोगाउनका लागि प्रवासमा भएका नेपालीहरुले अहिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बेला आएको छ।’
प्रवासमा भएका सबै नेपालीहरुले वैध माध्यमबाट मात्रै रेमिट्यान्स पठाइदिए नेपाली अर्थतन्त्रलाई निकै सहयोग पुग्ने चर्चा गर्दै उनले वैध ढंगले रेमिट्यान्स पठाउन कानुनमा संशोधन गर्न आवश्यक भए पनि सरकार तयार रहेको जानकारी दिए।
‘कानुनमा संशोधन आवश्यक छ वा कुनै इन्सेन्टिभ आवश्यक छ भने त्यो बारेमा पनि प्रवासी नेपालीहरुले जानकारी गराउँदा उचित हुन्छ तर गैर बैंकिङ च्यानलबाट आएको रेमिट्यान्सलाई रोक्नु आवश्यक भएको छ,’ उनले भने।
गैर आवासीय नेपालीहरुलाई आर्थिक र सामाजिक अधिकारसहितको गैरआवासीय नागरिकता दिने विषयमा राजनीतिक दलहरु र संसद्को कुनै पनि विमति नरहेको जानकारी दिँदै अर्थमन्त्री पौडेलले केही महिनाभित्र नै यससम्बन्धी कानुन बनिसक्ने दाबी गरे।
अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुलाई नेपाल जाँदा भिसा लिनुपर्ने कानुनी व्यवस्थालाई पनि संशोधन गर्न सरकार तयार रहेको जानकारी दिए। नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन डा राजन भट्टराईले अमेरिकालगायत अन्य देशका विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले नेपालमा ज्ञान र सीप भित्र्याउन महत्वपूर्ण कार्य गर्नुपर्ने बताए।
कार्यक्रममा एनआरएन आइसीसीका अध्यक्ष डा बद्री केसीले नेपालबाट कामदारलाई विदेश पठाउँदा सीपमूलक तालिम दिएर मात्र पठाउनुपर्ने बताए। उनले नागरिकताको विषय प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरे।
प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापाले प्रवासी नेपालीका लागि लगानी सुरक्षित गर्ने, सम्पति फिर्ता ल्याउन सहजीकरण गर्ने, डलर खाता खोल्ने, आइपीओमा लगानी गर्ने विषयमा स्पष्ट कानूनी व्यवस्था भएमा रेमिट्यान्स र लगानी अझै देशमा भित्रिने बताउनुभयो। कार्यक्रममा अमेरिकी राजदूतावासका आर्थिक कन्सुलर होमकान्त भण्डारीले अमेरिकाबाट नेपालमा लगानी भित्र्याउन नीतिगत सुधारको आवश्यकता रहेको औंल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।