काठमाडौं– ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताहरू धरौटी बुझाएर रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतको आदेशपछि धरौटी बुझाएर पाँचै जना रिहा भएका हुन् ।
अदालतले रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
यो समूहले २४ माघको राति ड्यूटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो।
जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए। दरबारमार्गस्थित केशरमहल बिटबाट ड्यूटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो।
मध्यराति हो-हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो। तर, मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिदिएका थिए।
आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई उनीहरुले हिर्काएका थिए। जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको भिडियोमा प्रष्ट देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।